यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा

काठमाडौँ — एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए समूह विजेता हुने थियो ।

सानसिरोमा भएको खेलमा मार्सेली मिडफिल्डर रेबियटले दोस्रो र ६५ औं मिनेटमा एक एक गोल गरे । सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो । यसै समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० ले स्तब्ध पार्‍यो ।

इंग्ल्यान्डले भने लिग–बी ग्रुप–टुमा इंग्ल्यान्डले आयरल्यान्ड गणतन्त्रलाई ५–० ले हरायो र माथिल्लो श्रेणीमा उक्लिन सफल रह्यो । दस खेलाडीमा सीमित आयरल्यान्डविरुद्धका सबै पाँच गोल दोस्रो हाफमा भएका हुन् ।

अन्तरिम प्रशिक्षक ली कार्लसीको नेतृत्वमा इंग्ल्यान्डले खेलेको यो अन्तिम खेल पनि रह्यो । यसमै समूहमा ग्रिसले फिनल्यान्डमाथि २–० को जित निकाल्यो ।

तपाईको प्रतिक्रिया