अत्तरिया सेमिफाइनलमा प्रवेश, होराइजनको धमाकेदार जित

पोखरा, कास्की — पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुला टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमीले मालपोखरी क्रिकेट क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘डी’ अन्तर्गत बुधबार भएको खेलमा अत्तरियाले मालपोखरीलाई ६ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको मालपोखरी क्रिकेट क्लबले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनको योगफल खडा गरेको थियो। जवाफमा अत्तरियाले १४.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो।

अत्तरियाका लागि ओपनर अभिषेक पालले ३८ रनको योगदान दिए। उनले ५ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३० रन बनाए भने अर्जुन विक १२ रनमा नटआउट रहे। अत्तरियाको बलिङमा अर्जुन विक, हिक्मत महर, सौर्य श्रेष्ठ र सुशील साउदले समान २–२ विकेट लिए भने भोजराज भट्टले १ विकेट लिए।

मालपोखरीका विजय गुप्ता सर्वाधिक ३८ रनमा आउट भए। अन्य खेलाडीबाट उल्लेखनीय प्रदर्शन देखिएन। अत्तरियाले समूह ‘डी’का तीनै खेल जित्दै शीर्ष स्थानबाट सेमिफाइनलमा प्रवेश गर्‍यो।

बुधबार नै भएको समूह चरणको अर्को खेलमा होराइजन क्रिकेट क्लबले सुन्दरहरैंचा क्रिकेट क्लबलाई ७ विकेटले हरायो। १४० रनको लक्ष्य पछ्याउँदै होराइजनले १२.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो।

होराइजनका आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्कासहित ८० रनको विस्फोटक इनिङ खेले। अमर मिश्र ३७ रनमा अविजित रहे। बलिङतर्फ निर्मल गुरुङ र शुभम खनालले २–२ विकेट लिए।

सुन्दरहरैंचाले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो। मनिष थापाले सर्वाधिक ४७ रन जोडे।

समूह ‘डी’बाट अत्तरिया ६ अंकसहित पहिलो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्‍यो। होराइजन ४ अंकसहित दोस्रो स्थानमा रह्यो भने मालपोखरी तेस्रो स्थानमा सिमित रह्यो। सुन्दरहरैंचा अंकविहीन हुँदै समूहको पुछारमा रह्यो।

प्रतियोगितामा सीईसी काठमाडौं, गण्डकी हिरोज र हिमाल फ्रेन्ड्सले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन्। बिहीबार पहिलो सेमिफाइनलमा सीईसी काठमाडौं र हिमाल फ्रेन्ड्स भिड्नेछन्। दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज र अत्तरिया आमनेसामने हुनेछन्।

१६ टिम सहभागी प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको हो। फाइनल खेल शुक्रबार हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछ।

बुधबारको खेलमा अत्तरियाका अर्जुन विक र होराइजनका आरिफ खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। दुवैले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

तपाईको प्रतिक्रिया