अफगानिस्तान यू-१९ टोलीसँग नेपाली युवा टोलीको १ रनको हार

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ टोलीलाई अफगानिस्तानको युवा टोलीले लगातार दोस्रो खेलमा १ रनको रोमांचक जित निकाल्यो।

आइतबार मुलपानीमा भएको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दिएको थियो। नेपाल भने अन्तिम तीन बल खेल्न बाँकी रहँदा १६७ रनमा अलआउट भयो। यससँगै अफगानिस्तानले तीन खेलको एकदिवसीय सिरिजमा अन्तिम खेलअघि नै विजय प्राप्त गरिसकेको छ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो र ९ विकेट गइसकेका थिए। ध्रुव सोनारले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेर नेपाललाई आशा दिएको भए पनि चौथो बलमा नो-बोल भए पनि ध्रुव रनआउट भए। उनले ३१ बलमा २१ रन बनाए।

नेपालले पछिल्लो पाँच विकेट सस्तैमा गुमायो। ४० ओभर पछि नेपालले १३८ रनमा छैटौं विकेट गुमाएको थियो र त्यसपछि २९ रन जोड्दा पाँच विकेट गुमाइ सकेको थियो।

नेपालका सिब्रिन श्रेष्ठ २ रन, दिलसाद अली ८ रन, रोशन विक ९ रन, सन्तोष यादव ४ रन र अपराजित पौडेल शून्यमा आउट भए। अभिषेक तिवारी २५ बलमा २४ रन बनाएर आउट भए।

नेपालका लागि ओपनर साहिल पटेलले ६४ रन जोडे। उनले ११९ बलमा ६ चौका प्रहार गरे। निरजकुमार यादव १५ रन र कप्तान नरेन भट्ट १३ रन बनाएर आउट भए।

बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले २-२ विकेट लिए।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दा १६८ रन जोडेर अलआउट भयो। अफगानिस्तानका कप्तान मेहबुब खानले ५८ रन बनाएका थिए।

बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए। उनले १० ओभरमा २३ रन मात्र दिए। सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले २-२ विकेट लिए।

नेपालले दिल्लीको यू-१९ टोलीसँग तीन खेलको सिरिज खेलेपछि अफगानिस्तानसँग पनि तीन खेलको सिरिज खेलेको हो। दिल्लीविरूद्ध नेपालले तीनै खेलमा जित निकालेको थियो। अफगानिस्तानसँगको पहिलो खेलमा भने नेपाल १३० रनको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले चैत महिनाको अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकप एसिया छनोटका लागि प्रतियोगिता खेल्दैछ। यस प्रतियोगितामा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान प्रतिस्पर्धा गर्दैछन्।

यो छनोटको विजेताले २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा स्थान पाउनेछ। नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो र यसअघि पनि २००० देखि २००८ सम्म पाँचपटक विश्वकप खेलेको छ।

तपाईको प्रतिक्रिया