अब कांग्रेस नेतृत्वको सरकार आवश्यक :प्रचण्ड

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब नयाँ सरकार गठनतर्फ अघि बढ्ने संकेत गरेका छन्। आइतबार चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ सरकार गठनको अवस्था सिर्जना भएको बताएका हुन्।

उनले वर्तमान सरकार टिक्न कठिन रहेको अवस्था देखिएको उल्लेख गर्दै, अबको सरकार प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा बन्नुपर्ने धारणा व्यक्त गरे। प्रचण्डका अनुसार, हाल माओवादी केन्द्र सरकारको नेतृत्वमा केन्द्रित नभए पनि, सर्वत्र सरकारप्रति असन्तुष्टि देखिएकाले नयाँ राजनीतिक समाधान आवश्यक देखिएको छ।

“सडकदेखि राजनीतिक वृत्तसम्म सरकारप्रति असन्तुष्टि छ,” प्रचण्डले भने, “नयाँ वर्षले अबको निकास दिन्छ भन्ने अपेक्षा गरेका छौं।”

२०८१ सालको समग्र मूल्यांकन गर्दै उनले न अत्यधिक उत्साह न त ठूलो निराशा भएको बताए। साथै, यो समय राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै आगामी वर्ष जनताको आवश्यकता अनुसार अघि बढ्नुपर्ने समय भएको उल्लेख गरे।

उनले विगत वर्षले नयाँ संकल्प र सुधारको आधार तयार गरेको धारणा पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया