अमूल्य सम्पदाको विकास र संरक्षणमा तीन तहकै सरकरले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको संरक्षण, विकास र संवर्धनमा तीन तहका सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ।

आइतबार ललितपुर महानगरपालिका-१६ स्थित पाटन दरबारका जिर्णोद्वार र पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो कुरा गर्नुभएको हो।

उहाँले नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरू नेपाल र नेपालीहरूको पहिचान र गौरवको प्रतीक भएको उल्लेख गर्दै, देशभरिका रमणीय स्थलहरूलाई प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरको रूपमा चिनाउनुभयो।

“नेपालका अनगिन्ती मठ-मन्दिर, शक्तिपीठ र तीर्थस्थलहरू हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरवसँग गहिरो सम्बन्ध राख्दछन्।” उहाँले यी सम्पदाहरूको संरक्षण र संवर्धन गर्नु हाम्रो साझा जिम्मेवारी भएको पनि जोड दिनुभयो।

उहाँले थप्नुभयो, “त्यसैले बहुजाति, बहुभाषी र विभिन्न परम्परा र संस्कृतिका धनी हाम्रो देशको अमूल्य सम्पदाको संरक्षण र विकासमा तीन तहका सरकारहरूले ध्यान दिनुपर्छ।”

राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकहरूको सचेतना र चासोको महत्व पनि औँल्याउनुभयो। उहाँका अनुसार, सम्पदाहरू भावी पुस्ताका लागि पूर्खाको इतिहास र परम्परालाई बुझ्न महत्त्वपूर्ण कडीको रूपमा रहन्छ।

तपाईको प्रतिक्रिया