अमेरिकामा विमान दुर्घटन, १८ जनाको मृत्यु

अमेरिका वासिङटन डिसीमा भएको एक विमान दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारी गरिरहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आकाशमा आपसमा ठोक्किएका थिए। उद्धार कार्य जारी छ र मृतकको संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ।

उद्धारका लागि करिब ३०० आपतकालीन उद्धारकर्ता, गोताखोर र डुंगा परिचालन गरिएका छन्, तर रातको अँध्यारो र चिसो पानीले उद्धार कार्यलाई कठिन बनाएको छ। अमेरिकन एयरलाइन्सको विमान, जसमा चालक दल र ६० जना यात्री सवार थिए, धावनमार्ग ३३ मा अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको थियो। विमान दुई टुक्रामा विभाजित भई पोटोम्याक नदीमा खसेको र हेलिकप्टर पनि नदीमा पल्टेर खसेको बताइएको छ। सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन सैनिक सवार थिए र यो भर्जिनिया राज्यको फोर्ट बेल्भोयरबाट उडेको थियो।

यो दुर्घटना स्थानीय समयअनुसार राती ९ बजेतिर भएको थियो, अमेरिकी संघीय नागरिक उड्डयन निकाय (FAA) का अनुसार। दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको छ र अन्य विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पठाइएको छ। यात्रुहरूको सहयोगको लागि डीसी मेट्रो रेलले लामो समयसम्म सेवा दिने बताइएको छ। उद्धार कार्यमा अमेरिकाका छिमेकी राज्य मेरिल्यान्डले पनि मद्दत पुर्याइरहेको छ र एफबीआईले घटनामा अनुसन्धान गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे जानकारी प्राप्त गरेको र आपत्कालीन उद्धार कार्यको प्रशंसा गरेका छन्। उनले भने, “मैले स्थितिको निगरानी गरिरहेको छु र थप जानकारी प्राप्त भएपछि विस्तृत जानकारी प्रदान गर्नेछु।”

तपाईको प्रतिक्रिया