आइपिएल क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज दुई खेल आयोजना हुने छन्। भारतको आन्ध्र प्रदेशको विशाखापटनममा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ भने गुवाहाटीमा राति पौने ८ बजे राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स भिड्ने छन्।

यसअघि आइपिएल टी-ट्वेन्टी क्रिकेटमा गुजरात टाइटान्सले मुम्बई इण्डियन्सलाई ३६ रनले पराजित गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। यसमा साई सुदर्शनले ६३ रनको योगदान दिएका थिए।

जवाफमा मुम्बईले १ सय ९७ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सूर्यकुमार यादवले ४८ रनको योगदान गरे।

आइपिएलको यस सिजनमा गुजरातले दोस्रो खेलमा आफ्नो पहिलो जित निकालेको छ। पहिलो खेलमा गुजरातलाई पञ्जाब किंग्सले हराएको थियो, जबकि मुम्बईको यो लगातार दोस्रो हार हो, जसमा पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया