आगलागीबाट उदयपुरमा चार घर जले, एक करोड २२ लाखको क्षति

उदयपुरको चौदण्डीगढी नगरपालिका-७, कल्याणचोकमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक करोड २२ लाख रुपैयाँको क्षति भएको छ। मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका-७ का शरणकुमार राईको घरमा विद्युत् सर्ट भएको थियो, जसका कारण आगलागी सुरु भएको हो।

आगलागीबाट तीन घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति पुगेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट एक करोड २२ लाखको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सन्तोष कार्कीका अनुसार स्थानीय ३४ वर्षीय कीर्तिमान राई आगोले पोलिंदा घाइते भएका छन्। उनलाई नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

आगलागीका कारण शरण राईको घर, भाडामा बस्ने संगीता राईको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर र महत्त्वपूर्ण कागजातसमेत जलेर ३० लाख रुपैयाँको क्षति भएको छ। त्यस्तै, सर्वधन राईको घरमा पनि अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर आदि जलेर ५० लाखको क्षति भएको छ।

कालुमान राईको घरमा आगलागी हुँदा ३५ लाखको क्षति भएको छ। घरभित्र रहेका सबै सामग्री, जस्तै अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर र महत्त्वपूर्ण कागजातसमेत जलेका छन्।

स्थानीय रविन्द्र राईको तीनतले पक्की घरमा आगोले दुई लाखको क्षति पुर्‍याएको छ। त्यस्तै, अम्मरबहादुर राईको तीनतले पक्की घरमा पनि क्षति पुगेको छ। विजय राई र कुमार राईको घरमा पनि आगलागीबाट क्षति भएको छ।

दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो। मंगलबार नै त्रियुगा नगरपालिका-४ फर्सेट जंगल र बेलका नगरपालिका-५ स्थित जलदेवी सामुदायिक वनमा पनि आगलागी भएको थियो, जसमा प्रहरी र स्थानीयकाे सहकार्यमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।

तपाईको प्रतिक्रिया