आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मंगलवार कंग्रेसमा सम्बोधन गरेका छन्। यो राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको ४४औं दिनमा पहिलोपटक संयुक्त बैठकलाई सम्बोधन गर्ने अवसर थियो।

सो सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकारी आदेशहरूको महत्त्व र प्रशासनले गरेका कार्यहरूको प्रशंसा गरे। उनले लगभग १ घण्टा ४० मिनेटको सम्बोधनमा पूर्व राष्ट्रपति जोसेफ आर बाइडेन र उनका प्रशासनका नीतिहरूलाई गलत भन्दै अमेरिका खराब अवस्थामा पुगेको आरोप लगाए। ट्रम्पले भने, “मैले राष्ट्रपति बनेपछि अमेरिका सही मार्गमा फर्केको छ।”

उनले कार्यकारी आदेशको माध्यमबाट आवश्यक माग पूरा गर्न काम गरिएको बताए र यस्ता आदेशहरू भविष्यमा पनि जारी रहने जनाए। ट्रम्पले मंगलवारका दिन पनि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनको क्रममा अमेरिकामा अवैध आप्रवासी नियन्त्रणको कदमलाई प्रभावकारी भएको भन्दै भविष्यमा यस्ता कदमहरूमा अझ कडाइ गरिने बताए। उनले गोल्डन भिसा कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने र अमेरिका भित्र कर तिर्ने व्यक्तिहरूलाई प्राथमिकता दिने कुरा पनि उल्लेख गरे।

अमेरिकामा अंग्रेजीलाई राष्ट्रिय भाषा घोषणा गर्न, गल्फ अफ अमेरिका नामकरण, डेनाली हिल घोषणा, पानामा क्यानलमा अमेरिकी स्वामित्वको माग लगायतका मुद्दामा आफ्नो प्रशासनले “अमेरिका पहिलो” नीतिमा आधारित कदम चालिरहेको बताए। उनले वैदेशिक सहायता कटौती, कर्मचारी कटौती र स्वेच्छिक अवकाशको व्यवस्था जस्ता प्रावधानहरूलाई अमेरिकालाई बलियो बनाउनका लागि प्रयोग गरेको दाबी गरे।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको कामको प्रशंसा गर्दै भने, “४३ दिनमै अरूले ४ वर्ष वा ८ वर्ष लगाएर गर्ने काम हामीले सकेका छौं। अमेरिका गोल्डेन एजमा प्रवेश गरेको छ।”

अमेरिकामा मुद्रास्फीति उच्च रहेका बेला उनी राष्ट्रपति बनेपछि सबै समस्याहरू समाधान भएको र युक्रेन-रूस युद्धका सम्बन्धमा उनले अमेरिकाको अवदर्शन गरेको बारेमा पनि बोले। उनले भने कि अमेरिका अनावश्यक सहयोग नगरी युक्रेनसँग शान्ति वार्ता गर्नको लागि पहल गरिरहेको छ।

ट्रम्पले बाइडेन प्रशासनको गलत नीतिका विषयमा आधार र तथ्यांक प्रस्तुत गर्दै आफ्नो प्रशासनले सही दिशा अप्नाएको दाबी गरे। यद्यपि, यसका आधारमा विभिन्न सञ्चारमाध्यमहरूले तथ्यांकको फ्याक्ट चेक गरिरहेका छन्।

ट्रम्पको सम्बोधनको समयमा रिपब्लिकन पार्टीका सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्सले उनको समर्थन गरेका थिए, भने डेमोक्रेटिक पार्टीका सांसदहरूले विरोध जनाएका थिए। केही डेमोक्रेट सदस्यहरू विरोध स्वरूप बाहिरिएका थिए र केहीले विरोध जनाउने पोशाक लगाएका थिए।

ट्रम्पको पहिलो कार्यकालमा उनलाई महाअभियोगको लागि उभिएका डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले पनि विरोध जनाएका थिए।

तपाईको प्रतिक्रिया