आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं : आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस प्रस्ताव राखेका थिए। सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।

त्यसअघि सांसद स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले अस्वीकृत भएको छ। अध्यादेशका विरुद्ध विरोधको सूचना दिने क्रममा आएका जिज्ञासाको उत्तर दिँदै मन्त्री पौडेलले प्रक्रियागत ढंगले नै अध्यादेश आएको जिकिर गरे। अध्यादेश ल्याएर सरकारले संसदको अपमान नगरेको भन्दै उनले संसदलाई कुण्ठा व्यक्त गर्ने थलो भन्दा विचार राख्ने थलो बनाउन आग्रह गरे।

उनले सदन नचलेका बेला अध्यादेश ल्याउन पाउन सरकारको अधिकार भएको बताए। सदनमा अध्यादेश प्रस्तुत गर्दा अपमान हुन्छ भने लोकतन्त्र खोज्न जंगल जाने? भन्दै उनले प्रश्न गरे। उनले सरकारले ल्याएको अध्यादेश पास गर्ने क्षमता सरकारसँग रहेको धारणा राखे। त्यस्तै उनले समयभित्रै नेपाललाई ग्रे लिष्टबाट हटाउने दाबी गरे। बैठकमा अध्यादेशको विरोधको सूचना दिने क्रममा विपक्षी दलका सांसदहरूले अर्थ समितिमा विधेयक छलफलमा रहँदा अध्यादेश ल्याएको भन्दै तत्काल नैतिकताका आधारमा राजीनामा गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया