ई–सेवाबाट करोडौं रकम चोरी गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौं — फिसिङ लिंकको माध्यमबाट रकम चोरी गरेको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कृष्णपुर नगरपालिका–१ का राहुल बुढा हुन्, जो हाल काठमाडौंको अनामनगरमा बस्दै आएका थिए।

उनी माथि विभिन्न व्यक्तिलाई एसएमएसमार्फत फिसिङ लिंक पठाएर ई–सेवाको एक करोड दुई लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार बुढाले ४ हजारभन्दा बढी प्रयोगकर्ताको ई–सेवा खाताबाट रकम निकालेका थिए।

उनीमाथि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनुसन्धान गर्दै आएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ।

प्रहरीका अनुसार यस्ता डिजिटल अपराधहरू रोक्न सावधानी अपनाउनुपर्ने, फिसिङ लिंकमा नथिच्न र अनधिकृत स्रोतहरूबाट आएको सन्देशप्रति सतर्क हुन आवश्यक रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया