एकीकृत समाजवादी पार्टीले बैठक बोलायो

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति र कार्यक्रमलाई अनुमोदन गर्नका लागि चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठकहरू आयोजना गर्ने निर्णय गरेको छ।

समाजवादी अभियानलाई सुशासन, रोजगारी, समृद्धि र सामाजिक रूपान्तरणको लक्ष्य राखी देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीहरूले कार्यक्रम अनुमोदन गर्नका लागि बैठकहरू आह्वान गरिएको हो। यस अभियानको अवधि चैत २ गतेदेखि वैशाख २२ गतेसम्म रहने जनाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्ने भएको छ। त्यस्तै, केन्द्रीय मोर्चा सङ्गठनको बैठक चैत ७ गतेका लागि बोलाइएको छ।

आजको संयुक्त बैठकमा चैत १५ गते काठमाडौंमा हुने समाजवादी मोर्चाको विरोध प्रदर्शन र आमसभाको तयारी, व्यवस्थापन र अधिकतम जनसहभागिता सुनिश्चित गर्ने विषयमा छलफल हुने केन्द्रीय प्रचार विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया