एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय

काठमाडौँ । एकैदिन ९ कम्पनीको लाभांश तथा साधारणसभासम्बन्धी घोषणा भएका छन् । बिहीबार दोस्रो बजारमा सूचीकृत कम्पनीले सो सम्बन्धमा निर्णय गरेको नेपाल स्टक एक्सचञ्जले जनाएको छ । 

यसरी निर्णय गर्ने कम्पनीहरुमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । शिवमले यही पुस २९ गते बिहान ९ बजो राष्ट्रिय सभागृहमा बस्नेगरी साधारणसभा बोलाएको छ । यसका लागि पुस १७ गते बुक क्लोजको मिति तय गरिएको छ । 

सर्वोत्तम सिमेन्टले यो वर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त कम्पनीले पुस २६ गते भैरहवास्थित एक होटलमा बस्नेगरी साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि पुस १२ गतेलाई बुक क्लोजको मिति तय गरिएको छ । 

मञ्जुश्री फाइनान्सले पुस २८ गतेका लागि साधारणसभा बोलाएको छ । यसअघि नै ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले साधारणसभा बोलाउँदै पुस ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । 

बुटवल पावर कम्पनीले पनि पुस २८ का लागि साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेका लागि बुक क्लोजको मिति समेत तोकेको छ । कम्पनीले यसअघि नै ५ प्रतिशत नगद लाभांशको घोषणा गरिसकेको छ । 

कृषि विकास बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले साधारणसभाको मिति घोषणा गर्न बाँकी छ । 

माउन्टेन हाइड्रोले यसपटक कुनै पजि लाभांश घोषणा नगरी साधारणसभा बोलाएको छ । एक्त कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको हो । यसका लागि पुस ११ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । 

विजय लघुवित्तले पनि यसपटक कुनै लाभांश घोषणा गरेको छैन । बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश बिना नै साधारणसभा बोलाउनेगरी राष्ट्र बैंकको स्वीकृति लिने निर्णय गरेको हो । 

गणपति लघुवित्तले पनि यसपटक कुनै पनि लाभांश नदिने भएको छ । यो प्रस्तावसँगै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिनेछ ।  प्रादेशिक स्तरको विकास बैंकको रुपमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकले यसपटक कुनै पनि लाभांश नदिने प्रस्ताव गर्दै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनी ऐनको व्यवस्था बमोजिम प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ । साधारणसभाभन्दा कम्तीमा २१ दिनअघि साधारणसभा आह्वान गर्नुपर्ने भएकोले लाभांश घोषणा तथा साधारणसभा आह्वानको क्रम बढ्दै गएको छ । 

तपाईको प्रतिक्रिया