एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई ४–२ ले पराजित गर्दै पुनरागमन जित

काठमाडौं — अर्जेन्टिनी खेलाडी जुलियन आल्भारेजको प्रेरणादायी प्रदर्शनमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई ४–२ ले पराजित गर्दै पुनरागमन जित निकालेको छ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा आल्भारेजले दुई गोल गर्दै टिमको जितमा महत्त्वपूर्ण भूमिका खेले। एट्लेटिकोलाई जित दिलाउन जिउलिआनो सिमोन र एलेक्जान्डर सार्लाेथले पनि एक–एक गोल गरे।

खेलको २१औँ मिनेटमा मामाडोउ सेलाले गोल गर्दै पाहुना टोली भालाडोलिडलाई अग्रता दिलाए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन। २५औँ मिनेटमा पाएको पेनाल्टीमा आल्भारेजले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि २७औँ मिनेटमा सिमोनको गोलमार्फत एट्लेटिकोले २–१ को अग्रता लियो। दोस्रो हाफमा, ५६औँ मिनेटमा जाभी सान्चेजले गोल गर्दै खेल २–२ मा बराबरी गरे।

तर, ७२औँ मिनेटमा पुनः पेनाल्टी पाएको एट्लेटिकोका लागि आल्भारेजले दोस्रो गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए। त्यसपछि, ७९औँ मिनेटमा एलेक्जान्डर सार्लाेथले गोल गर्दै खेललाई ४–२ मा पुर्‍याए।

यस जितसँगै एट्लेटिको मड्रिड ३१ खेलपछि ६३ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ र युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ। भालाडोलिड भने १६ अंकमै अड्किएको छ र रेलिगेसनको जोखिम झनै बढेको छ। ला लिगामा हाल बार्सिलोना समान ७० अंकसहित शीर्ष स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया