एनपीएल : विराटनगरविरुद्ध लुम्बिनीको उच्च स्कोर

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सुरु भएको पाँचौं दिनमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनायो । 

यस प्रतियोगितामा यो सर्वाधिक स्कोर हो । सुदूरपश्चिमले मंगलबार विराटनगरविरुद्ध नै १ सय ८२ रन बनाएको थियो । विराटनगर पहिलो दुवै खेलमा पराजित भइसकेको छ ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरोहिया १३ बलमा २ चौका र १ छक्का प्रहार गरी १५ रन बनाई रन आउट भए भने १९ बलमा ३ चौकासहित १७ रन बनाएका अर्जुन साउदलाई इस्मातुल्लाह आलमले बोल्ड गरे ।

रोहितले टम मुर्ससँग तेस्रो विकेटमा ३३ बलमा ६७ रनको साझेदारी गरे । अनिल खरेलको बलमा लगातार तीन छक्का प्रहार गरेका मुर्स १७ बलमा ३० रन बनाई रनआउट भए । लुम्बिनीका चार ब्याटर रन आउट भएका थिए । त्यसमा सन्दीप जोरा १२ र बेन कटिङ ६ रनमा थिए ।

साद बिन जाफरले १३ बलमा १ छक्कासहित १५ रन बनाए । अन्तिम ओभरको पहिलो दुई बलमा बसिर अहमदलाई लगातार छक्का प्रहार गरेका विवेक यादव ७ बलमा कुल ३ छक्कासहित १९ रन बनाई अविजित रहे । रामोन्ड सिमोन्स २ रनमा अविजित रहे । विराटनगरबाट आलम, राजेश पुलामी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

तपाईको प्रतिक्रिया