एपीएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं। विभागीय टोली एपीएफले तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले आयोजक करेन्ट रूपन्देही–११ लाई १–० ले पराजित गर्‍यो।

अब एपीएफले सोमबार फाइनलमा प्रवेशका लागि संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्नेछ।

एपीएफ र रूपन्देहीबीचको खेल शनिबार नै सम्पन्न हुने तय गरिएको थियो, तर खराब मौसमका कारण ६५ मिनेटपछि खेल आइतबार सम्पन्न गरियो। एपीएफलाई अन्तिम चारमा पुर्‍याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए।

खेलको ‘म्यान अफ द म्याच’ एपीएफका गोलकिपर विशाल गुरुङ घोषित भए।

प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टिमले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार प्रदान गरिनेछ।

प्रतियोगितामा आयोजक करेन्ट रूपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिम सहभागी छन्।

तपाईको प्रतिक्रिया