कतारले कागजातविहीन आप्रवासीलाई आममाफी दिएको छ

कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने अवसर दिएको छ। स्वदेश फर्कने क्रममा श्रमिकहरूले कतार सरकारलाई कुनै जरिवाना तिर्नु पर्ने छैन र डिपोर्टेशन सेन्टरमा बस्नुपर्ने पनि छैन।

कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी गरिएको सूचनाअनुसार, आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नगरेका श्रमिकहरू अब स्वदेश फर्कन पाउने छन्।

तर, श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचयपत्र बनाउने वा बस्ने अनुमति पाउने बारेमा भने स्पष्ट जानकारी दिइएको छैन। यसअघि घोषणा गरिएको आममाफीमा श्रमिकलाई स्वदेश फर्कन वा वैधानिक स्थिति प्राप्त गरी कतारमै बस्नको लागि विकल्प दिइएको थियो।

यो बिनासजाय स्वदेश फर्कनको व्यवस्था आइतबार, २७ माघबाट लागू भएको हो। स्वदेश फर्कन चाहने श्रमिकले साल्वा रोडस्थित सर्च एण्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सम्पर्क गर्न सक्नेछन्।

आममाफीका लागि नेपाली श्रमिकको सहजीकरण नेपाली दूतावासले गर्ने भएको छ। कतारमा आवासीय कानुन उल्लंघन गर्ने नेपाली श्रमिकहरूको यकिन तथ्यांक भने नेपाली दूतावाससँग छैन।

तपाईको प्रतिक्रिया