कर्णाली नदीमा गाई हेल्ने व्यक्तिलाई कारबाही गर्न सांसद रानाको माग

काठमाडौं: नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले गाईलाई निर्ममतापूर्वक कुटी नदीमा हेल्ने व्यक्तिहरूलाई कारबाहीको माग गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद रानाले परम्पराको नाममा गाईको अधिकारको हनन गरी जबरजस्ती नदीमा हाल्नु गैरकानूनी भएको भन्दै यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेकी हुन्।

उनले भनिन्, “परम्पराको आवरणमा मानिसहरू कतिसम्म गिरावटमा पर्छन्। गौदानपछि गरिएको हृदयविदारक घटनाले जो कोहीको पनि मनमा पीडा पुर्याउँछ। गाई नदी जान डराए पनि ढुंगाले हानेर जसरी पनि नदीमा हालिन्छ। ती व्यक्तिहरूको कडा छानबिन गर्न माग गर्दछु।”

सांसद रानाले सनातन हिन्दू धर्मअनुसार गाई मार्नु पापको रूपमा हेरिने उल्लेख गर्दै गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने चलनले मानवीय दिमागमा कहिले सद्बुद्धि आउने भन्दै प्रश्न उठाइन्।

बाजुराको जगनाथ गाउँपालिका-६ काप्रेका स्थानीय साउने सार्की नामक व्यक्तिको मृत्यु भएपछि दाहसंस्कारको क्रममा मलामीहरूले गाईलाई नदीमा हालेका थिए। उक्त गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान गर्ने परंपरा रहेको वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया