कांग्रेसबाट सरकारमा गएका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएका आफ्नै पार्टीका मन्त्रीहरूले जनअपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टिप्पणी गरेका छन्। बौद्धिक पेशाकर्मी अभियान परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीका कार्यकर्ता र सर्वसाधारण जनतामा सरकारप्रति असन्तुष्टि बढ्दो रहेको बताएका हुन्।

थापाले विगतको राजनीतिक संक्रमणले विकासको गति अवरुद्ध भएको उल्लेख गरे। उनका अनुसार २०६० देखि २०७० सम्मको दशक माओवादी द्वन्द्वका असर व्यवस्थापनमा बित्यो भने त्यसपछिको दशक संविधान निर्माण र निर्वाचन प्रक्रियामा खर्चिएको हो। “अब हामी विकास र नतीजा दिनुपर्ने मोडमा छौं,” उनले भने।

महामन्त्री थापाले २०६० सालको माओवादी हिंसापछिको अवस्थासँग तुलना गर्दै हालको अवस्था अझ चुनौतीपूर्ण रहेको बताए। उनले कांग्रेसले जनतामा भरोसा पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले नेताहरूको कार्यशैलीमा समस्या रहेको र परिवर्तनको आवश्यकता रहेको स्पष्ट पारे। “अब हामीले व्यवस्था होइन, नेतृत्व परिवर्तन गर्नुपर्छ,” उनले भने।

सरकारप्रति जनतामा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस केन्द्रित रहेको थापाको भनाइ छ। अहिले सरकार परिवर्तनको खेलमा कांग्रेस नलागेको बताउँदै, जनअपेक्षा अनुसारको परिणाम दिन सबै पक्ष एकजुट हुनुपर्ने धारणा उनले राखे।

तपाईको प्रतिक्रिया