कार्यालयमा मदिरा सेवनपछि झगडा गर्ने प्रमुख प्रशासकीय अधिकृतविरूद्ध मुद्दा चलाउने निर्णय

दिउँसै मदिरा सेवनपछि मातेर कार्यालयमा पुगेर झगडा गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरूद्ध मुद्दा चलाउने निर्णय कार्यपालिका बैठकले गरेको छ।

बुधबारको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको कृत्यलाई गलत ठहर गर्दै उनलाई कानुनी कारबाहीको लागि मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।

मेयर छविलाल थारूले बैठकमा भने, “कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार हर्कतलाई ध्यानमा राख्दै कानुनी कारबाही गर्ने निर्णय गरेको हो। अब हामी छिट्टै मुद्दा दर्ता गर्नेछौं।”

मेयर थारूले थपे, “उपमेयर सापले अभद्र व्यवहारसम्बन्धी र मैले साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गर्ने निर्णय गरिएको छ।”

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य मंगलबार दिउँसो मदिराले मातेर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा र अभद्र व्यवहार गरेका थिए। उनले उपमेयरको कार्यकक्षमा टेबल थुनेर होहल्ला गर्दै गालीगलौज र धम्की दिएका थिए।

मंगलबार दिउँसो मदिराले मातेर सार्वजनिक रूपमा झगडा गर्दा मेयरले आफैले प्रहरी प्रशासनलाई सूचित गरेका थिए। प्रहरीले प्रमुख प्रशासकीय अधिकृत र अन्य दुई कर्मचारीलाई पक्राउ गरेको थियो।

मापसे गर्दा अस्पतालले प्रमुख प्रशासकीय अधिकृतको मदिरा सेवनको पुष्टि गरेको थियो। उनीहरूको परिवारको जिम्मामा तीनै जना रिहा भएका थिए।

मेयर थारूका अनुसार त्यसपछि प्रमुख प्रशासकीय अधिकृत आचार्य सम्पर्कविहीन भएका छन्। उनका मोबाइल फोन भने प्रहरी कार्यालयमा राखिएका छन्।

तपाईको प्रतिक्रिया