कुलमानप्रति आक्रोशित अर्थमन्त्री- ट्रंकलाइन समस्या समाधान नगरे सरकारले हस्तक्षेप गर्छ

रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाको आज बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने बताउँदै प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले समाधान गर्ने बताए ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका कुलमान घिसिङप्रति लक्षित गर्दै उनले सरकारलाई नटेर्नेहरुलाई हेरेर मात्रै नबस्ने चेतावनी दिएका थिए ।

‘सरकारलाई नटेर्ने, चुनौती दिने प्रवृत्ति राम्रो होइन, यसको प्राधिकरण नेतृत्वले सोच्नुपर्दछ, मन्त्रिपरिषदले नै प्राधिकरणलाई लिकमा ल्याउनुपर्ने छ, यसमा सरकार गम्भीर छ, प्राधिकरणले यो समयमा समाधान नगरे हस्तक्षेप गर्नेछ’, उनले भने, ‘सरकारले चासो मात्र व्यक्त गरेको छैन, सरकारले समाधान गर्छ ढुक्क हुनुस् ।’

अर्थमन्त्री पौडेलले उद्योगहरुले विद्युत प्रयोग गरेको रकम तिर्नुपर्ने र त्यसका लागि प्राधिकरणले समयमै बिल उपलब्ध गराउनुपर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले प्राधिकरणको उच्च तहले सरकारको गतिमा हिंड्न आनाकानी गरेको समेत संकेत गरे। उनले यही विषयमा अल्झिन नहुने भन्दै उर्जा क्षेत्रमा नेपालले फड्को मारिसकेको अवस्थामा प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गरी विश्वसनीय र भरोसायोग्य संस्था बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्राधिकरण आफै सबल र सक्षम नहुँदासम्म त्यहाँभित्र काम गर्ने कर्मचारीहरुलाई सक्षम बनाउन नसकिने बताउँदै पौडेलले सरकारले राष्ट्रसेवक कर्मचारी तथा नागरिकको हित हुने गरी काम गर्दै आएको दावी गरे। एमाले उपाध्यक्षसमेत रहेका पौडेलले कर्मचारीको सेवा सुविधा र रोकिएको बीमा लगायतका विषयमा सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवेले युनियनले कर्मचारी सदस्यहरुको हित र सुरक्षामा काम गर्दै आएको बताए । उनले प्राधिकरणका उच्चतहका नेतृत्वबाट सहिसमयमा सहिकाम नहुँदा कर्मचारीहरुले पीडा खेप्नुपरेको बताए ।

सभामा भाग दिन देशभरबाट प्रतिनिधि स्वयसेवक गरी एक हजारको सहभागिता रहेको प्राधिकरण युनियनले जनाएको छ । कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया