कोसी करिडोर प्रसारणलाइन उद्घाटन गर्न भारतीय मन्त्री खट्टर नेपाल आउँदै

काठमाडौं – भारतका विद्युत् तथा आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउन लागेका छन्। ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा उनी कोसी करिडोर २२० केभी प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गर्न मंगलबार नेपाल आउने कार्यक्रम तय भएको छ।

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारणलाइन र विभिन्न सबस्टेसनहरूको संयुक्त उद्घाटन खट्टर र खड्काले मंगलबार गर्नेछन्।

सो अवसरमा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेसन, २२०/३३ केभी बानेश्वर सवस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको पनि उद्घाटन गरिनेछ।

यसअघि माघ ३० गते मन्त्री खड्काको भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। भ्रमणका क्रममा मन्त्री खट्टरले भारतको सहयोगमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन पनि गर्नेछन्।

उक्त दिन नै दुई देशबीच संयुक्तरूपमा निर्माण गरिने अर्को प्रसारण लाइनका लागि स्थापना गरिएको संयुक्त कम्पनीको सम्झौतापत्रमा हस्ताक्षरसमेत हुने ऊर्जा मन्त्रालयले जनाएको छ।

यसै क्रममा वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ।

मन्त्री खट्टरले पशुपतिनाथको दर्शन गरेर सोही साँझ स्वदेश फर्किने ऊर्जा मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया