क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनेबारे ट्रम्प गम्भीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने बारेमा आफू गम्भीर रहेको बताएका छन्। उनले यो कुरा अमेरिकामा भएको सुपर बोल खेल अघि फक्स न्युजसँगको अन्तर्वार्तामा पुष्टि गरेका थिए। जब उनलाई सोधिएको थियो कि क्यानडालाई अमेरिकामा गाभ्ने कुरा साँच्चै हो भने उनले ‘हो’ भनेका छन्।

ट्रम्पका अनुसार, क्यानडालाई ५१ औं राज्य बनाएमा अमेरिका धेरै लाभ हुनेछ, किनभने वर्तमानमा क्यानडासँग अमेरिका वार्षिक रूपमा दुई खर्ब डलर गुमाइरहेको छ। उनले क्यानडाबाट विभिन्न प्राकृतिक स्रोत, कच्चा तेल, कृषि र औद्योगिक उत्पादन किन्ने गरेको भन्दै क्यानडालाई अमेरिकाले सहुलियत दिएको बताएका छन्। उनले क्यानडासँगको व्यापार घाटा २०२३ मा ७३ अर्ब डलर पुगेको भन्दै यो मुख्यतः पेट्रोलियम पदार्थको आयातको कारण भएको बताए।

ट्रम्पले यसअघि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्ताव बारम्बार गरेका छन्। उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘महान राज्य क्यानडाका गभर्नर’ भनेर सम्बोधन गरेका थिए। यसबाट यो संकेत गरिएको थियो कि ट्रम्प व्यापार सम्झौतामा आफ्नो पक्षमा दबाब बनाउन चाहन्थे।

क्यानडाको प्रधानमन्त्री जस्टिन ट्रुडो र ट्रम्प बीचमा आप्रवासी, जलवायु परिवर्तन जस्ता मुद्दामा मतभेद भएका छन्। ट्रम्पले क्यानडाबाट आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने धम्की दिएका थिए, जसपछि क्यानडा पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशत भन्सार लगाउने निर्णयमा पुगेको थियो।

तर, ट्रम्पको कदम अमेरिकामा समेत विरोधको कारण बनेको थियो, र क्यानडामा राष्ट्रवादी लहर उठेको थियो। यस विरोधको कारण ट्रम्पले ३० दिनको लागि आफ्नो कदम स्थगित गरे। तर, उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्तावमा भने गम्भीरता प्रकट गरेका छन्। ट्रुडोका अनुसार, ट्रम्प क्यानडाका प्राकृतिक स्रोतहरूमा पहुँच बनाउन चाहन्छन्।

तपाईको प्रतिक्रिया