खेलकुद पूर्वाधारमा कर्णालीले राम्रो गरेको छ : खेलकुदमन्त्री चौधरी

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदको तयारीमा कर्णाली प्रदेश सरकारले तयार पारेको भौतिक पूर्वाधार उत्कृष्ट रहेको बताएका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा खेलकुदमन्त्री चौधरीले कर्णाली प्रदेशको खेलकुद आयोजना गर्नका लागि तयार पारिएको पूर्वाधारको प्रशंसा गर्दै त्यसको महत्त्व उल्लेख गरे।

मन्त्री चौधरीले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई प्राथमिकता दिन आग्रह गर्दै, खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर सृजना गर्न राष्ट्रिय खेलकुदलाई भव्य बनाउन सबैको सहकार्य आवश्यक भएकोमा जोड दिए।

उक्त कार्यक्रममा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको थियो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित उक्त कार्यक्रममा खेलकुदमन्त्री चौधरीले लोगो सार्वजनिक गर्नुभयो भने राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गर्नुभयो। यस अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुदको लागि डेडिकेटेड वेबसाइट पनि सार्वजनिक गरे।

सदस्यसचिव घिसिङले २०३८ सालदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय खेलकुदको २२औं संस्करणको आयोजना आफ्ना पालामा बजेट व्यवस्थापन गरेर यसलाई सफल बनाउने बताउनुभयो। उहाँले राष्ट्रिय खेलकुद आयोजना गर्न खेल संघको भूमिका महत्वपूर्ण रहेको धारणा राख्दै, खेलाडीहरूको उत्साहलाई मध्यनजर गर्दै सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

मन्त्री घिसिङले दुई वर्षअघि आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति केही महिना पछाडि सरेको अवस्थामा अब निर्धारित समयमा यसको आयोजना सुनिश्चित गर्न सबैको जिम्मेवारी रहेको स्पष्ट गरे ।

दशौं राष्ट्रिय खेलकुद २०८२ सालको जेठ ३ देखि १० गतेसम्म हुने तय भएको छ। यस अवसरमा खेलाडी अनलाइन दर्ता प्रक्रिया र राष्ट्रिय खेलकुदको लोगो र मस्कटको एनिमेटेड भिडियो पनि प्रस्तुत गरिएको थियो। लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ। मस्कटका रूपमा कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर हाबे्र (रेड पाण्डा) प्रयोग गरिएको छ। लोगो र मस्कट विकास तमखुले गरेका हुन्।

तपाईको प्रतिक्रिया