गभर्नर नियुक्तिमा देउवा–ओलीको सहमति, चाँडै टुंगो लाग्ने सञ्चारमन्त्री गुरुङको भनाइ

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा चाँडै नियुक्ति हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गर्दै, प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति भइसकेको जानकारी दिए।

‘देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउने क्षमताको गभर्नर आवश्यक भएकाले सबै दलहरूको चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘हिजो मात्र प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको छ। अब संयन्त्रको बैठक बस्नेछ र सो बैठकबाट नीतिगत मार्गनिर्देशन हुनेछ भन्ने हाम्रो विश्वास छ।’

उनले गभर्नर नियुक्ति केही दिनमै टुंगिने विश्वास व्यक्त गर्दै, देशको आर्थिक व्यवस्थापनका लागि योग्य नेतृत्व आवश्यक रहेको बताए।

त्यसैगरी, शिक्षकहरूको आन्दोलन र मागप्रति पनि सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री गुरुङले ‘जायज’ माग सम्बोधन गर्न सरकारले पहल थालेको जानकारी दिए। उनले सरकारले आगामी बजेट अधिवेशन बोलाउन सिफारिस गरिसकेको समेत स्पष्ट पारे।

तपाईको प्रतिक्रिया