गोप्य सैन्य योजना परिवारसँग सार्वजनिक गरेपछि अमेरिकी रक्षामन्त्री विवादमा

वासिङ्टन । यमनस्थित हुथी विद्रोही समूहविरुद्धको हवाई आक्रमणबारे गोप्य योजना परिवारका सदस्यसँग च्याट बाहिरिएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथ विवादमा तानिएका छन्।

सीबीएस न्यूजका अनुसार मन्त्री हेगसेथले १५ मार्चमा ‘सिग्नल’ नामक निजी च्याट एपमार्फत् आफ्नी पत्नी, भाइ र निजी वकिललाई आक्रमणको योजना सम्बन्धी सूचना पठाएका थिए। ती सन्देशमा एफ/ए-१८ होर्नेट्स लडाकु विमानको उडान तालिका र सम्भावित लक्ष्यमाथि प्रहारको समयसमेत उल्लेख गरिएको थियो।

सन्देश प्राप्त गर्ने मध्ये उनकी पत्नी जेनिफर हेगसेथ रक्षा मन्त्रालयमा कुनै पनि आधिकारिक जिम्मेवारीमा छैनन्। उनी फक्स न्यूजकी पूर्व निर्माता हुन्। यसअघि पनि उनी रक्षामन्त्रीसँग उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी भएको भन्दै आलोचना भइसकेकी छन्।

च्याट समूहमा समावेश अन्य सदस्यहरूमा रक्षामन्त्रीका भाइ फिल हेगसेथ र लामो समयदेखि उनको कानुनी सल्लाहकार रहेका टिम पार्लाटोर पनि रहेका छन्। यद्यपि, अमेरिकी मिडिया रिपोर्ट अनुसार, यी दुबैजनालाई सो स्तरको गोप्य सैन्य जानकारी आवश्यक नपर्ने स्पष्ट गरिएको छ।

यो विवाद अझ पेचिलो बन्न पुगेको छ, किनकि यसअघि पनि हेगसेथ संलग्न रहेको अर्को सिग्नल समूहमा यस्तै किसिमका संवेदनशील जानकारीहरू लिक भएका थिए। सो समूहमा ‘द एट्लान्टिक’ पत्रिकाका प्रमुख सम्पादक जेफ्री गोल्डबर्गसमेत सदस्य रहेको उल्लेख गरिएको छ।

घटनापछि अमेरिकी राजनीतिक र सुरक्षा वृत्तमा उच्च संवेदनशीलता भएका सूचना कसरी साझा र सुरक्षित गरिन्छ भन्ने विषयमा गम्भीर प्रश्नहरू उठेका छन्।

तपाईको प्रतिक्रिया