घरेलु टोली बाँके ११ लाई पराजित गर्दै रौतहट सेमिफाइनलमा

नेपालगन्ज । रौतहट जिल्ला फुटबल संघले नेपालगन्जमा जारी लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको छ। आइतबार भएको खेलमा रौतहटले घरेलु टोली बाँके ११ लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

रौतहटका लागि जेनिफर राना मगर, समीक्षा राई र भारतीय खेलाडी पियुलीले गोल गरे। उत्कृष्ट प्रदर्शन गरेकी सिमरन राई प्लेयर अफ द म्याच घोषित भइन्।

खेलको २७औं मिनेटमा सेनु परियारको पासमा जेनिफरले हेडमार्फत गोल गर्दै रौतहटलाई अग्रता दिलाइन्। दोस्रो हाफको सुरुवातमै समीक्षा राईले जेनिफरको पासमा दोस्रो गोल थपिन्। त्यसपछि ५१औं मिनेटमा पियुलीले जेनिफरकै क्रसलाई वान टचमै पोस्टमा पठाउँदै रौतहटको अग्रता ३–० बनाइन्।

रौतहटले अब फाइनल प्रवेशका लागि वैशाख १० गते नेपाल एपीएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एपीएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग खेल्ने कार्यक्रम छ।

बाँके ११ का प्रशिक्षक सानु तामाङले तयारीको लागि पर्याप्त समय नपाएको बताएका छन्। “खेलाडी र समय दुवै अभावमा पनि टिमले राम्रो प्रयास गर्‍यो,” उनले भने। टिम कप्तान उर्बशी शाहीले सिनियर टोलीसँग प्रतिस्पर्धा गर्न पाउँदा सिक्ने मौका पाएको बताइन्।

रौतहटका टिम म्यानेजर भोजराज घिमिरे भने टिमको प्रदर्शनप्रति पूर्ण सन्तुष्ट देखिएनन्। “खेलको अन्त्यतिर गोल गर्ने समन्वय कमजोर देखियो,” उनले प्रतिक्रिया दिए। टिम कप्तान सलोनी राना मगरले पहिलो खेल भएकाले केही दबाब महसुस भएको बताउँदै फिनिसिङमा कमजोरी देखिएको स्वीकार गरिन्।

तपाईको प्रतिक्रिया