घरेलु मैदानमा कर्णालीसँग लुम्बिनीको हार

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि ५ रनको जित दर्ता गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा अलआउट हुँदै २०० रन बनाउन सफल भयो।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन बनाएका थिए। उनले १०७ बलमा ६ चौका प्रहार गरे। ओपनर मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ४ र १६ रन बनाए। आकाश त्रिपाठी २१ रन बनाउँदै एलबीडब्ल्यू भए। कप्तान देव खनालले ४० रनको योगदान गरे। अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि दिपेन्द्र रावत र दिनेश अधिकारीले समान ३–३ विकेट लिए। प्रकाश जैशीले २ विकेट लिँदा कप्तान दिवान पुन र सुनिल धमलाले १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनी ४८.५ ओभरमा २०५ रनमा अलआउट भएको थियो। कर्णालीका तल्लो क्रममा आएका दिपेन्द्र रावतले सर्वाधिक ६६ रन बनाए। उनले ८४ बलमा ९ चौका प्रहार गरे। ओपनर रविन्द्र शाही र सुनिल धमलाले क्रमशः ९ र १९ रन बनाए। निश्चल रावलले ११, विपिन रावलले १० रन बनाउँदा अर्जुन घर्तीले ५६ रनको अर्धशतकीय पारी खेले। उनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। दिनेश अधिकारीले १६ रन बनाउँदा मोहन विक ६ रनमा अविजित रहे।

लुम्बिनीका लागि बलिङमा रमेश कुर्मीले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ३७ रन खर्चेर ४ मेडन बल फेंके। निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान २–२ विकेट लिए। कप्तान देव खनालले १ विकेट लिए। आजको हारले लुम्बिनीको फाइनल खेल्ने सम्भावनामा ठेस पुर्‍याएको छ। लुम्बिनी कर्णालीसँग हार्दा भने पुलिसले २ खेल अगावै फाइनलमा स्थान बनाएको छ।

तपाईको प्रतिक्रिया