मुस्ताङलाई ‘नेपालकै स्वर्ग’ भन्छन् चलचित्रकर्मी , स्टुडियो स्थापना गर्न माग!

मुस्ताङ — पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्ड सुगम बन्दै जाँदा मुस्ताङ चलचित्र छायांकनका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँबाट एकै दिनमा पुग्न सकिने, जनशक्ति र छायांकन सामग्री सजिलै ढुवानी गर्न मिल्ने भएकाले मुस्ताङमा छायांकन गर्न आउनेहरूको आकर्षण बढ्दो छ।

हिमाली सौन्दर्य, पृथक भूगोल, सांस्कृतिक विविधता, तथा कृषि–पशुपालन संस्कृति जस्ता विशेषताले भरिएको मुस्ताङ चलचित्रकर्मीका लागि लोभलाग्दो लोकेसन बनेको हो। पछिल्ला वर्षहरूमा यहाँ हलिउड, बलिउड र कलिउडका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्महरूको छायांकन उल्लेखनीय रूपमा बढेको छ।

अहिलेभन्दा निकै अप्ठ्यारो समयमा पनि भारतीय चलचित्र ‘खुदा गवाह’ को छायांकन मुस्ताङमै गरिएको थियो। अमिताभ बच्चनले ती कठिन अवस्थामै यहाँ आएर सुटिङ गरेका थिए। तर अहिले अवस्था धेरै सहज भएको छ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार सडक सञ्जालको विकासपछि एकै दिनमा छायांकन टोली पुग्न सक्ने भएकोले मुस्ताङ चलचित्र निर्माणकर्ताहरूको रोजाइमा परेको हो। स्थानीय तहले न्यून शुल्कमा अनुमति दिने गरेको र यस्तो गतिविधिबाट पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुगेको उनले बताए।

पछिल्ला पाँच वर्षमा ‘चिनो’, ‘प्रेमगीत’, ‘कबड्डी’, ‘जेरी’, ‘छिरिङ’, ‘भकुन्डो’, जस्ता दर्जनौँ नेपाली चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्मको छायांकन मुस्ताङमा भइसकेको छ।

नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले मुस्ताङलाई “नेपालकै स्वर्ग” भनेर वर्णन गर्दै यहाँ चलचित्र स्टुडियो स्थापना गर्न सके गण्डकी प्रदेशकै आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका छन्। त्यसका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया