चहलको सशक्त बलिङमा पञ्जाब किङ्सको १६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा पञ्जाब किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गरेको छ। मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमा १११ रन बनाएको थियो।

११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमै समेटियो। पञ्जाबका बलर युज्वेन्द्र चहलले प्रभावशाली प्रदर्शन गर्दै ४ विकेट हात पारे। त्यस्तै, मार्को जान्सनले ३ विकेट लिँदा जेभियर बार्लेट, अर्षदीप सिंह र ग्लेन म्याक्सवेलले १–१ विकेट लिएका थिए।

कोलकाताका लागि अङ्ककृत रघुवंशीले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २८ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान अजिन्क्य रहाणे र एन्ड्री रसेलले समान १७ रन बनाए। अन्य ब्याटरहरू दोहोरो अंकमा रन जोड्न असफल भए।
पञ्जाबका ओपनर प्रविसिम्रन सिंहले सर्वाधिक ३० रन बनाए। उनले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए। शशांक सिंहले १८, नेहाल बढेराले १० र जेभियर बार्लेटले ११ रन बनाए। कप्तान श्रेयस अय्यर भने शून्यमा आउट भए।

कोलकाताका बलर हर्षित राणाले ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नारायणले समान २–२ विकेट लिए। वैभव अरोरा र एनरिच नोर्तेजले १–१ विकेट हात पारे।
यो जितसँगै पञ्जाब किङ्सले ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। कोलकाताले भने ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बटुलेको छ।

तपाईको प्रतिक्रिया