च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली

काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

मंगलबार राति एन्फिल्डमा भएको खेलको दोस्रो लेगमा पीएसजीले १–० को अग्रता बनाएपछि नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। पेनाल्टीमा पीएसजीले ४–१ ले जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले पीएसजीलाई १–० ले हराएको थियो।

त्यसैदिन, बायर्न म्युनिखले बायर लेभरकुजेनविरुद्ध २–० को जित निकाली क्वार्टरफाइनल यात्रा तय गरेको छ। बायर्नले समग्रमा ५–० को जितसहित अन्तिम–८ मा स्थान बनाएको हो। पहिलो लेगमा बायर्नले घरेलु मैदानमा ३–० को जित निकालेको थियो।

स्पेनिस क्लब बार्सिलोनाले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। बार्सिलोनाले घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ ले हराउँदै अन्तिम–८ मा स्थान बनाएको हो। पहिलो लेगमा बार्सिलोनाले बेन्फिकालाई १–० ले हराएको थियो।

इटालियन क्लब इन्टर मिलान मंगलबार राति फेयेनुर्डविरुद्ध २–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउने चौथो टोली बनेको हो। इन्टरले पहिलो लेगमा फेयेनुर्डलाई २–० ले हराएको थियो।

अब क्वार्टरफाइनलमा इन्टर मिलानको सामना जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ। पीएसजीले एस्टोन भिल्ला र क्लब ब्रागाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने, बार्सिलोनाले लिल र बोरुसिया डर्टमन्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया