जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छ : उर्जामन्त्री खड्का

फाइल तस्बिर।

काठमाडौँ। उर्जा, जलश्रोत र सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो।आइतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।उर्जामन्त्री खड्काले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताउनुभयो। उहाँले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौती आउनसक्ने चेतावनी दिनुभयो।

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरू पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने घटना पनि जारी रहेको बताउनुभयो। उहाँले सरकार पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको पनि बताउनुभयो।उहाँले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकिएको जानकारी दिनुभयो। जलवायु परिवर्तनका जोखिमहरूलाई ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो।

मन्त्री खड्काले भन्नुभयो, “वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ कि नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ। यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन्। हाम्रा हिमनदीहरू क्रमशः साना हुँदै गइरहेका छन्। यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ। यदि हामीले भविष्यमा आउने जोखिमलाई मध्यनजर गर्दै अहिले नै उचित तयारी नगरे भने, भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौती आउनसक्छ।”मन्त्री खड्काले सरकार हिमनदीहरूको विस्तृत अध्ययन र जलक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो। उहाँले हिमनदीहरूको संरक्षण र जलवायु परिवर्तनका असरहरू न्यूनीकरणका लागि सरकार अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै अघि बढिरहेको पनि जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया