जलवायु परिवर्तनले हिमालहरूमा गम्भीर प्रभाव पारिरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरू विशेषगरी हिमाली क्षेत्रहरूमा गम्भीर रूपमा देखिएको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को बैंककमा सुरु भएको ८१ औँ सत्रको अध्यक्षता गर्दै उनले जलवायु, अव्यवस्थित शहरीकरण र आर्थिक असमानता जस्ता चुनौतीहरूमाथि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

उनले भनिन्, “हाम्रा हिमालयहरू केवल पानीको स्रोत होइनन्, ती जीविकोपार्जन र सभ्यताको मेरुदण्ड हुन्। अहिले जलवायु परिवर्तनका कारण ती क्षेत्रमा अकल्पनीय असर देखिन थालेको छ।”

परराष्ट्रमन्त्री राणाले सत्रमा सम्बोधन गर्दै एसिया तथा प्रशान्त क्षेत्र जलवायुजन्य विपद्को अग्रपंक्तिमा रहेको र यसले समुदायहरूलाई चरम मौसमी घटनाहरू जस्तै बाढी, खडेरी र प्राकृतिक प्रकोपको जोखिममा राखेको स्पष्ट पारिन्।

शहरीकरणसम्बन्धी विषयमा बोल्दै उनले क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध, सहनशील र समावेशी शहरीकरणको खाँचो रहेको उल्लेख गरिन्। “शहरहरू विकास र अवसरका केन्द्र हुन्, तर योजनाविहीन विस्तारले समस्या निम्त्याइरहेको छ,” उनले भनिन्।

उनले सामाजिक सुरक्षा प्रणालीको कमजोरी, डिजिटल पहुँचको असमानता (डिजिटल डिभाइड), संरक्षणवादी नीति र वित्तीय जोखिमलाई समेत वर्तमान क्षेत्रीय चुनौतीका रूपमा औँल्याइन्।

यस्ता समस्याको समाधानका लागि उनले क्षेत्रीय एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। “आजको युगमा कुनै पनि देशले यस्ता बहुआयामिक चुनौतीहरू एक्लै समाधान गर्न सक्दैन। सामूहिक प्रयास र क्षेत्रीय सहकार्य अपरिहार्य छ,” मन्त्री राणाको भनाइ थियो।

उनले आगामी मे महिनामा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनसम्बन्धी गम्भीर बहस र समाधानको पहल गरिने जानकारीसमेत दिइन्।

तपाईको प्रतिक्रिया