ज्ञानेन्द्र शाहको गल्तीले देशमा गणतन्त्रको स्थापना भएको हो : प्रचण्ड

फाइल तस्बिर।

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले राजतन्त्र पुनःस्थापनाको प्रयासलाई ‘कलाविहीन नाटक’ भनेका छन्। सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनःस्थापना सम्भव नहुने टिप्पणी गरे।

प्रचण्डले भने, “ज्ञानेन्द्र शाहको गल्तीले नै देशमा गणतन्त्रको आगमनमा सहयोग पुर्यायो,” र थपे, “अहिले पनि ज्ञानेन्द्रको गल्तीबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी जागरुक बनाउन मद्दत पुर्याउने छ।” उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई एक महत्त्वपूर्ण उपलब्धि ठहर गर्दै, अहिलेको व्यवस्थाविरुद्ध प्रश्न उठाउने प्रयास गर्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

प्रचण्डले यस क्रममा सबै दलहरू मिलेर संविधान संशोधनको आवश्यकतालाई रेखांकित गर्दै, जनताको आवश्यकताअनुसार प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरे। उनले राजतन्त्रको विरुद्ध खडा भएका शक्तिहरूले एकजुट भएर जनतालाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकता पनि औँल्याए। यसै सन्दर्भमा उनले क्रान्तिकारी माओवादी धारहरू छिट्टै एकताबद्ध हुने दाबी गरे।

तपाईको प्रतिक्रिया