ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग

फाइल तस्बिर ।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेर सम्बोधन गरेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले गलत इतिहास प्रस्तुत गरेर शाहीलाई अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्।

सांसद सिंहले भने, “हिजो एउटा गलत इतिहास प्रस्तुत गरेर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गर्नुभयो, ‘तिमी’ र ‘तपाईं’, ‘मिस्टर’ भनेर सम्बोधन सम्बोधन भयो,” उनले भने । 

सिंहले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको समेत बताएका छन्।

उनले थपे, “सदनमा यस्तो मर्यादाहीन व्यवहार देखाउनु गैरजिम्मेवारी हो। त्यो अभिव्यक्ति संसदीय रेकर्डबाट मेटिनु पर्छ। र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्दछु।”

आइतबारको प्रतिनिधि सभा बैठकमा पन्त र शाहीबीच राजाकालीन विषयमा धारणा राख्दा विवाद भएको थियो।

तपाईको प्रतिक्रिया