ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोका सबै उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार महसुल लागु गर्ने घोषणा गरेका छन्। यो भन्सार मध्यरातदेखि लागू हुनेछ।

यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए, तर क्यानडाबाट आउने कच्चा तेलमा मात्र १० प्रतिशत भन्सार लाग्ने बताएका थिए। यो निर्णय लागू हुनु अघि, अन्तिम समयमा उनले भन्सार ३० दिनका लागि रोकिदिएका थिए।

तर, ह्वाइट हाउसमा सोमबार बोल्दै उनले यसपटक कुनै पनि क्षणमा भन्सार रोक्ने सम्भावना नरहेको बताएका छन्। उनले भन्सार लागू गर्ने सबै तयारी पुरा भएको र भोलिदेखि लागू हुने घोषणा गरेका छन्। ट्रम्पले मेक्सिको र क्यानडालाई भन्सार लगाउने कारणको रुपमा अवैध आप्रवासी र लागुपदार्थको समस्या उठाएका छन्।

अमेरिकाका प्रमुख व्यापार साझेदार क्यानडा र मेक्सिकोसँग सीमा सुरक्षा र लागुऔषध तस्करीको समस्यामा सहयोगको अपेक्षासहित उनले भन्सार ३० दिनका लागि रोक्का गरेका थिए। यसले उत्तर अमेरिकामा केही दिनको राहत प्रदान गरेको थियो, जसले आर्थिक वृद्धिमा असर र मूल्यवृद्धिको सम्भावना टारेको थियो।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबाले अवैध आप्रवासी र लागुपदार्थ रोक्न १० हजार सैनिक पठाउने भनेपछि ट्रम्पले भन्सार रोकेका थिए। यसको उत्तरमा, अमेरिकाले मेक्सिकोमा आफ्ना शक्तिशाली हतियार पठाउन रोक्ने प्रतिबद्धता जनाएको थियो।

अघिल्लो कार्यकालमा पनि मेक्सिकोले अमेरिकासँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता जनाएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, भन्सार महसुलको निर्णय रोकिएपछि अमेरिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

एक महिनाअघि ट्रम्पले २५ प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए, जसले विश्व बजारमा हलचल मच्चाएको थियो र अमेरिकाकै सेयर बजारमा गिरावट आएको थियो। तर, ट्रम्पले आफ्नो लोकप्रियता घट्ने डरले आफ्नो कदम रोकिदिएका थिए। अब, एक महिनापछि उनले फेरि क्यानडा र मेक्सिकोका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेका छन्।

तपाईको प्रतिक्रिया