ट्रम्प फेरि विवादमा

काठमाडौँ — सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्यानडाबारेको अभिव्यक्तिका कारण चर्चासँगै विवादमा आएका छन् । 

गत नोभेम्बर ५ को राष्ट्रपति चुनावमा निर्वाचित ट्रम्पले आइतबार डेनमार्क अधिराज्यको स्वायत्त टापु ग्रिनल्यान्ड अमेरिकाका लागि अत्यावश्यक भएको बताएका छन् । त्यसअघि ट्रम्पले गणतन्त्र पनामाको पनामा नहर पुनः नियन्त्रणमा लिने, मेक्सिकोमाथि आक्रमण गर्ने र क्यानडालाई ‘५१ औं राज्य’ बनाउने बताएका थिए ।

‘राष्ट्रिय सुरक्षा र संसारभरको स्वतन्त्रताका लागि अमेरिकाले ग्रिनल्यान्डको पूर्ण स्वामित्व र नियन्त्रण आवश्यक भएको महसुस गरेको छ,’ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् । उनले ‘पे–पाल’ का सहसंस्थापक केन होवेरीलाई डेनमार्कका लागि अमेरिकी राजदूतमा नियुक्त गर्ने घोषणा गर्दै ग्रिनल्यान्डको ‘स्वामित्व आवश्यक’ भएको बताएका हुन् । ‘केनले अमेरिकाको हितको प्रतिनिधित्व गर्न अद्भुत काम गर्नेछन्,’ ट्रम्पले भनेका छन् ।

ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ट्रम्पको टिप्पणीको तत्कालै कडा प्रतिक्रया दिए । ‘हामी बिक्रीका लागि होइनौं र हामी बिक्रीका लागि उपलब्ध हुनेछैनौं,’ उनले भनेका छन्, ‘हामीले हाम्रो स्वतन्त्रताको लामो संघर्ष गुमाउनु हुँदैन । यद्यपि, हामीले सम्पूर्ण विश्व, विशेष गरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ ।’

ट्रम्पले यसअघि २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । ट्रम्प ग्रिनल्यान्डको प्राकृतिक स्रोतप्रति आकर्षित भएको बताइएको थियो । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ घोषणा गरेकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् । फ्रेडरिक्सनले ट्रम्पको भनाइ ‘वाहियात’ भएको प्रतिक्रिया दिएकी थिइन् ।

जसका कारण ट्रम्पले डेनमार्कको राजकीय भ्रमण नै रद्द गरेका थिए । जबकि डेनमार्ककी रानी मार्गरेट द्वितीयको निमन्त्रणामा २०१९ सेप्टेम्बर २ का लागि ट्रम्पको डेनमार्क भ्रमण तय थियो । ट्रम्पले भ्रमण रद्द गरेपछि भने फ्रेडरिक्सनले माफी मागेकी थिइन् । तर त्यसको केही घण्टामा नै ट्रम्पले उनलाई ‘निकै खराब र अप्रिय’ भनेका थिए । ‘मलाई लाग्छ, प्रधानमन्त्रीको भनाइ बेतुकको छ,’ ट्रम्पले भनेका थिए, ‘मलाई लाग्यो कि यो अनुपयुक्त भनाइ हो । यदि हुँदैन भनेको भए हामी चासो लिने थिएनौं ।’

फ्रेडरिक्सनले आफूसँग भन्दा पनि अमेरिकासँग कुरा गरिरहेको ट्रम्पको भनाइ थियो । ‘तपाईंले संयुक्त राज्य अमेरिकासँग यसरी कुरा नगर्नुहोस्, कम्तीमा मेरो शासनमा रहेको अमेरिकासँग,’ ट्रम्पको भनाइ थियो । ट्रम्पको पछिल्लो टिप्पणीप्रति डेनमार्कको प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

तर डेनमार्कका कन्जरभेटिभ राजनीतिज्ञ रासमुस जार्लोभले सरकारद्वारा ग्रिनल्यान्डमाथिको नियन्त्रण छलफल वा वार्ताका लागि नभएको स्पष्ट शब्दमा बताएका छन् । ‘जुन हदसम्म अमेरिकी गतिविधिहरू डेनमार्कको भूभागलाई नियन्त्रण गर्न लक्षित हुन्छन्, यसलाई निषेध र प्रतिकार गर्नुपर्छ । त्यसपछि तिनीहरू त्यहाँ आउन सक्दैनन्,’ जार्लोभले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।

‘भूमध्यसागरको मोती’ भनेर चिनिने ग्रिनल्यान्ड टापु डेनमार्कको स्वशासित भूभाग हो । यो सन् १७२१ देखि डेनमार्कको भूभागका रूपमा रहेको छ । ग्रिनल्यान्डका बासिन्दा पूर्ण रूपमा डेनमार्कका नागरिक हुन् । क्यानडाको आर्कटिक द्वीप समूहको पूर्वमा पर्ने ग्रिनल्यान्ड आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित छ । २१ लाख ८४ हजार वर्ग किमि क्षेत्रफलको ग्रिनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो ।

ग्रिनल्यान्डको राजधानी नुक डेनमार्कको राजधानी कोपेनहेगनबाट भन्दा अमेरिकाको न्युयोर्कबाट नजिक पर्छ । कोपनहेगनबाट नुक ३ हजार ५ सय ३४ किमि र न्युयोर्कबाट २ हजार ९ सय ७७ किमिको दूरीमा छ । ग्रिनल्यान्डमा लगभग ५६ हजार ८ सय मानिस बस्छन् ।

सन् २००९ देखि उनीहरूसँग टापुलाई डेनमार्कबाट स्वतन्त्र घोषणा गर्न सक्ने अधिकार छ । सन् २००९ को ग्रिनल्यान्डको स्वशासनसम्बन्धी ऐनले ग्रिनल्यान्डका जनतालाई स्वतन्त्रताको विकल्पसहित आत्मनिर्णयको अधिकार प्रदान गरेको हो । २०२३ अप्रिलमा ग्रिनल्यान्डको संसद्ले संविधानको मस्यौदा तय गरिसकेको छ । यसलाई केहीले स्वतन्त्रतातर्फको प्रमुख कदमका रूपमा व्याख्या गर्ने गरेका छन् ।

उत्तरी अमेरिका महादेशको भाग भए पनि ग्रिनल्यान्ड सन् १९६८ देखि राजनीतिक र सांस्कृतिक रूपमा युरोप (खासगरी नर्वे र डेनमार्क) सँग निकट छ । ग्रिनल्यान्ड खनिज, तेल र प्राकृतिक ग्यासमा धनी छ । तर अर्थतन्त्र माछा मार्ने व्यवसाय र डेनमार्कले दिने वार्षिक अनुदानमा भर पर्ने भएकाले ग्रिनल्यान्डको विकासको गति भने सुस्त छ । ग्रिनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकी अन्तरिक्ष फौजको पिटुफिक हवाई आधार शिविर छ । जसका कारण ग्रिनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।

अमेरिकाका पूर्वराष्ट्रपति ह्यारी ट्रुम्यानले एक पटक ग्रिनल्यान्ड खरिदको प्रस्ताव गरेको समेत ट्रम्पले दोहोर्‍याएका छन् । ट्रुम्यानले सन् १९४६ मा १० करोड अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । जुन हालको करिब १ अर्ब ४० करोड डलर बराबर हो । तर प्राकृतिक स्रोत र कूटनीतिक महत्त्वका हिसाबमा भने यसको आजको मूल्य दसौं गुणा बढी हुने अनुमान छ ।

अमेरिकाले सन् १८०३ मा १ करोड ५० लाख डलरमा लुजियाना क्षेत्र खरिद गरेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख डलरमा अलास्का किनेको थियो । सन् १९१६ मा अमेरिकाले डेनिस वेस्ट इन्डिज (यूएस भर्जिन आइल्यान्ड) डेनमार्कसँग २ करोड ५० लाख डलरमा किनेको थियो । अमेरिकाले सन् १९४६ मा स्पेनसँग किनेको फिलिपिन आइल्यान्ड भने पछि त्यागेको थियो ।

ट्रम्पले पनामा नहरलाई पुनः नियन्त्रणमा लिने चेतावनी पनि दिएका छन् । नहरको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको बताउँदै ट्रम्फले शुल्क घटाउन वा नहर अमेरिकालाई हस्तान्तरण गर्न चेतावनी दिएका हुन् । ‘पनामाले लिएको शुल्क हास्यास्पद र अत्यधिक अनुचित छ,’ आइतबार एरिजोनामा समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, ‘हाम्रो देशमाथिको चर्को दोहन तुरुन्तै रोकिनेछ ।’

ट्रम्पको टिप्पणीपछि रुष्ट पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले ‘नहर र वरपरको क्षेत्रको हरेक वर्गमिटर आफ्नो देशको भएको’ प्रतिक्रिया दिएका छन् । पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने मुलिनोको भनाइ छ । यसअघि ट्रम्पले पनामा नहर अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएका थिए । ‘यदि ढुवानी दरहरू घटाइएन भने पनामा नहर हामीलाई छिटो र कुनै सर्तबिना नै फिर्ता गर्न माग गर्नेछौं,’ ट्रम्पले भनेका थिए ।

यो नहर पनामा गणतन्त्रको साँघुरो घाँटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने मानव निर्मित नहर हो । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी करिब १२ हजार ८ सय ७५ किमि कम भएको छ । नहरबाट बर्सेनि करिब १४ हजार पानीजहाज आवतजावत गर्ने गर्छन् ।

नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । ८२ किमि लामो नहर वर्षौं लगाएर निर्माण गरिएको थियो । नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ जनवरीमा काम सुरु गरेको थियो । तर सोचेअनुसार कामको प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो ।

१९१४ अगस्ट १५ मा खुला गरिएको नहर अमेरिकाले १९९९ डिसेम्बर ३१ पनामालाई हस्तान्तरण गरेको थियो । अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र पनामाका जर्नेल ओमर टोरियोसबीच १९७७ मा भएको सम्झौताअनुसार अमेरिकाले नहर हस्तान्तरण गरेको थियो । नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारको ज्यान गएको थियो । तीमध्ये अधिकांशको मलेरिया र ज्वरोका कारण मृत्यु भएको थियो ।

त्यस्तै, ट्रम्पले क्यानडालाई पनि अमेरिकामा गाभिन आग्रह गरेका छन् । उनले क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकाको ५१ औं राज्यका रूपमा गाभिन र गभर्नर हुन आग्रह गरेका हुन । ट्रुडोसँग फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा गत शुक्रबार भएको तीन घण्टा लामो छलफलका क्रममा ट्रम्पले यस्तो प्रस्ताव गरेका अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाले लगाएको भन्सार करका कारण क्यानडाको अर्थतन्त्र समस्यामा परेको ट्रुडोको गुनासोपछि ट्रम्पले अमेरिकामा गाभिने प्रस्ताव गरेको जनाइएको छ । यसअघि ट्रम्पले क्यानडाबाट आयात हुने समानमा २५ प्रतिशत कर लगाउने बताएका थिए । उक्त कदमले क्यानडाको अर्थतन्त्रमाथि गम्भिर असर पर्ने ट्रुडोको भनाइ थियो । त्यसको प्रतिक्रियामा ट्रम्पले क्यानडासँग अमेरिकाको सय अर्ब डलर व्यापार घाटा रहेको जनाएका थिए ।

क्यानडाका अधिकांश नागरिकहरूले पनि अमेरिकाको ५१ औं राज्यका रूपमा रहन चाहेको ट्रम्पको दाबी छ । ‘हामीहरूले बर्सेनि क्यानडालाई एक अर्ब डलरभन्दा धेरैको अनुदान किन दिन्छौं ? यसको कसैले जवाफ दिन सक्दैनन् । क्यानडाका धेरैजसो नागरिकहरू पनि अमेरिकाको ५१ औं राज्यको बासिन्दा बन्न चाहन्छन् । मलाई लाग्छ कि यो राम्रो विचार हो,’ सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए ।

ट्रम्पले लागूऔषध गिरोहलाई विदेशी आतंकवादी संगठन घोषित गर्ने र मेक्सिकोमा विशेष फौज पठाउने धम्कीसमेत दिएका छन् । उक्त कार्यले मेक्सिकोको सार्वभौमसत्ता उल्लंघन हुने र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको सम्बन्धमा तिक्तता आउने देखिन्छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’ जारी गर्ने बताउने गरेका छन् ।

ग्रिनल्यान्ड टापु खरिद गर्ने विषयमा ट्रम्पले गम्भीर प्रस्ताव अघि सारेका भए पनि पनामा नहरमाथि पुनः नियन्त्रण कायम गर्ने र क्यानडालाई ५१ औं राज्य बन्न गरेको प्रस्ताव भने अमेरिकी स्वार्थका लागि गरिएको दबाबका रूपमा हेरिएको छ । अमेरिकाको व्यापारको विषय ट्रम्पको मुख्य मुद्दा भएकाले उनले नहर प्रयोग गर्ने जहाजहरूमा लगाइने गरेको शुल्क कम गर्न पनामालाई दबाब दिएको ठानिएको छ । त्यसका साथै ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गरेसँगै अमेरिकी विदेश नीति परिवर्तन हुने संकेतका रूपमा पनि हेरिएको छ ।

तपाईको प्रतिक्रिया