डाक्टरहरूले श्रम शोषणको विरोधमा प्रदर्शन

नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरूले श्रम शोषणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारको निर्णय अनुसार आवासीय चिकित्सकलाई दिइने न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरिएको भन्दै उनीहरूले आइतबार माइतिघरमा धर्ना दिँदै विरोध जनाएका हुन्।

आवासीय डाक्टरहरूको प्रमुख माग भनेको चिकित्सा शिक्षा आयोगको निर्णय लागू गरिनु र स्वास्थ्य शिक्षा क्षेत्रमा भएको राजनीति बन्द गर्नु हो। उनीहरूले “आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर”, “आयोगको निर्णय नमान्ने मेडिकल कलेजको समन्धन खारेज गर” जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीका अनुसार, सरकारले ४८ हजार रुपियाँ तलब दिनुपर्ने निर्णय गरे तापनि उनीहरूले मात्र १९,८०० रुपियाँ प्राप्त गरेका छन्, जसलाई उनले श्रम शोषणको रूपमा वर्णन गरे। उनले सरकारको निर्णयको सही कार्यान्वयन र चिकित्सकहरूको हकको रक्षा गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया