तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष दाहाल

सिन्धुपाल्चोक — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न  आफूले निरन्तर  पहल  गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । 

सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया