तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठनको माग: राजेन्द्र लिङ्देन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “सबिन महर्जनलाई हिँडिरहेको अवस्थामा गोली किन हानियो? छतमाथि बसेर मञ्चमा अश्रुग्यास र माथिबाट गोली हान्नाले के भएको हो, यसको जवाफ चाहिन्छ।”

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।

लिङ्देनले न्यायिक आयोग गठन गरी यस घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्। राप्रपाले पनि उक्त प्रदर्शनलाई समर्थन गरेको थियो।

“न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारबाही गरियोस्,” लिङ्देनले भने।

यस घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

अध्यक्ष लिङ्देनले जनताले चाहे भने राजसंस्था पुनः आउन सक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया