तीन रनको थ्रिलर हारसँगै नेपाल उपाधिबिहीन, कुवेत च्याम्पियन

काठमाडौं — बसिर अहमदको साहसिक ब्याटिङका बाबजुद नेपालले चारदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि जित्न सकेन। हङकङको मोङ कोक मैदानमा आइतबार भएको रोमाञ्चक फाइनल खेलमा कुवेतले नेपाललाई ३ रनले हराउँदै उपाधि हात पारेको हो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमै सबै विकेट गुमाउँदै १७१ रनमा समेटियो।

नेपालका लागि बसिर अहमदले ८० रनको विस्फोटक पारी खेले। उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै संकटमा परेको टिमलाई जितको नजिक पु¥याए। बसिरले नवौँ विकेटका लागि नन्दन यादवसँग ७२ रनको महत्वपूर्ण साझेदारी गरे।

तर १९औँ ओभरमा नन्दन यादव ‘कट एन्ड बोल्ड’ हुँदा नेपालको जितको आशामा धक्का लाग्यो। त्यसअघिका दुई बलमा लगातार छक्का प्रहार गरेका नन्दनले १४ बलमा चार छक्का र दुई चौकासहित ३७ रन बनाएका थिए।

२०औँ ओभरको पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरे। नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो। तर, कुवेतका बलर अनुदीप चेन्थामाराले त्यसपछि उत्कृष्ट बलिङ गर्दै दुई डट बल फ्याकेर तेस्रो बलमा बसिरलाई क्लिन्टो अन्टोबाट क्याच गराए, जससँगै नेपालको हार सुनिश्चित भयो।

नेपालका ओपनर आसिफ सेखले २१ रन बनाए भने अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन। कुशल मल्ल ‘गोल्डेन डक’मा आउट भए भने दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमै फर्किए।

कुवेतका चेन्थामाराले तीन विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले दुई–दुई विकेट लिए भने मोहम्मद अस्लाम र मोहम्मद साफिकले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर रविजा सन्द्रावरुनले ६३ रन र क्लिन्टो अन्टोले २६ रन बनाए। उस्मान पटेलले २३, मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन थपे।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेल र करण केसीले एक–एक विकेट लिए।

लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको नेपालले यसअघि कुवेतलाई ६ विकेटले हराएको थियो। तर निर्णायक खेलमा भने नेपाल चुकियो र उपाधिबाट वञ्चित भयो।

तपाईको प्रतिक्रिया