दशैंका लागि आजदेखि नयाँ नोट, कहाँ जाने नया नोट लिन ?

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिनेछ । वाणिज्य बैंकले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड, बालाजु, सानोठिमी, विशाल बजार, गौशाला, कोटेश्वर, रामशाह पथ, रत्नपार्क र मंगलबजार नक्सालगायतका स्थानबाट नायँ नोट सटही सुविधा उपलब्ध गराएको छ ।

यसबाहेक संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्थालगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको थियो । यसपटक पनि त्यसरी नै नोट साट्ने प्रक्रिया अघि बढाइएको छ ।

सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक नोटका सय वटाको प्याकेट मात्र साटिनेछ ।

तपाईको प्रतिक्रिया