दुर्गा प्रसाईंको प्रारम्भिक बयान : के भने त उनले ?

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्थाप्रति समर्थन जनाउने प्रदर्शनका क्रममा अराजकता फैलिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंको प्रारम्भिक बयान प्रहरीले लिएको छ।

प्रदर्शनमा मुख्य भूमिका खेलेको आरोप लागेका प्रसाईंले प्रहरीसँगको बयानमा राजसंस्था पुनस्र्थापनाको अभियान कुनै हालतमा नरोकिने बताएका छन्। उनले भनेका छन्, “म राजा ल्याएरै छाड्छु, चाहे मेरो सम्पत्ति नै किन न सकियोस्।”

प्रसाईंले प्रदर्शनको समयमा गाडी प्रहरीले चलाएको भनिएको विषयमा समेत स्पष्टिकरण दिएका छन्। “प्रदर्शन सुरु हुनुअघि नै स्टेजमै अश्रुग्यास प्रहार भयो। त्यो सहनै सकिनँ, रिस उठ्यो र गाडी त्यही भावनामा हुँइकाएको हुँ,” उनको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले जानकारी दिएको छ।

तीनकुनेमा भएको उक्त प्रदर्शनमा अराजकता मच्चिएपछि प्रहरीले सयौँ राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै गोली चलाउनु परेको थियो। कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने करिब १०० जना प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए। निजी घर, कार्यालयहरूमा आगजनी र तोडफोडसमेत भएको थियो।

उक्त घटनापछि पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणालाई उपचारका लागि थुनामुक्त गरिएको छ। उनी क्यान्सरको उपचारका लागि भारत जानुपर्ने कारण देखाउँदै हाजिरी जमानीमा छोडिएका हुन्।

उनीसँगै पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईं भने प्रहरी हिरासतमा छन्। मिश्र र राणाले बयानमा आफूहरूको कुनै अराजक उद्देश्य नरहेको जिकिर गरेका छन्। “प्रदर्शन शान्तिपूर्ण नै थियो, तर अवस्था बेकाबु भयो,” उनीहरूको भनाइ प्रहरी स्रोतले उल्लेख गरेको छ।

प्रदर्शनको अघिल्लो राति दुर्गा प्रसाईंले केही युवाहरुलाई गोप्य प्रशिक्षण दिएको प्रहरीको दाबी छ। उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीले अनुसन्धानका लागि ६० दिनसम्म थुनामा राख्न सक्ने कानुनी प्रावधानअनुसार उनीहरूलाई हिरासतमा राखेको हो। जिल्ला अदालत काठमाडौंबाट दुईपटक म्याद थपिएको छ।

हाल दुर्गा प्रसाईंलाई अन्य थुनुवासँगै सामान्य कोठामा राखिएको छ भने रवीन्द्र मिश्रलाई छुट्टै कोठामा राखिएको छ। दुवैको हिरासतभित्र भेटघाट भने भइरहेको छैन।

तपाईको प्रतिक्रिया