दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैन : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था भइसकेको स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले हालसम्म केही कर्मचारीले निवृत्तिभरणपछि पेन्सन र पुनः सरकारी नियुक्तिमा पाउने सुविधा दुबै लिँदै आएको विषयमा कानुनमा स्पष्ट व्यवस्था नभएका कारण समस्या उत्पन्न भएको बताए।

उनका अनुसार अब त्यस्ता दोहोरो सुविधा लिन नपाइने व्यवस्था कानूनमै उल्लेख गरिएको छ। “यो विषयमा अपव्याख्या गरिएको भए पनि अब कानुनी रूपमा नै स्पष्ट भएकाले समस्या छैन,” सांसद बडूले भने।

सांसद बडूले सानातिना भ्रष्टाचारका अभियोगमा सजाय भोगेका कर्मचारीलाई पेन्सन सुविधा रोक्दा उनीहरूको परिवारसमेत दोहोरो सजायमा पर्ने सम्भावना हुने भन्दै त्यसबारे संवेदनशील हुनुपर्ने धारणा राखे। “फौजदारी अभियोगमा सजाय पाएको भन्दै पेन्सन नै काट्ने हो भने परिवार पनि मारमा पर्छ,” उनले भने।

त्यस्तै, उनले कर्मचारीको सेवा प्रवाह र वृत्ति विकासको विषयमा पनि कानुनी स्पष्टता भएको उल्लेख गरे। “नायब सुब्बाबाट स्वतः छैटौं तहमा र १२ वर्ष सेवा गरेपछि सातौं तहमा बढुवा हुने प्रावधानले कर्मचारी वृत्ति विकासमा कुनै समस्या छैन,” उनले थपे।

तपाईको प्रतिक्रिया