धरानमा डेङ्गीको प्रकोपः किन नियन्त्रण हुन सकिरहेको छैन

डेङ्गी
Image captionधरानमा डेङ्गीबारे जानकारी दिन विद्यार्थी र समुदायमा सचेतना अभियान चलाइए पनि प्रभावकारी नभएको अधिकारीहरू बताउँछन्

धरानमा फैलिएको डेङ्गीको प्रकोप नियन्त्रणका लागि चालिएका उपाय प्रभावहीन भएपछि डेङ्गीको सङ्क्रमण नियन्त्रणमा संलग्न चिकित्सक तथा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

झण्डै एक महिनाअघि देखिएको डेङ्गीबाट सङ्क्रमित बिरामीको सङ्ख्या घट्नुका साटो बढ्दै गएपछि समुदायमा लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान चलाइएको थियो।

प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन गरिए पनि त्यसको सङ्क्रमण रोकिएको छैन।

धरानमा विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गीबारे चेतनामूलक अभियान सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्यण गर्न ‘फगिङ’ अर्थात् धूँवा उडाएर मार्ने कार्य अभियान चलाइएको छ।

डेङ्गी प्रकोप क्षेत्र

तर त्यसबाट पनि डेङ्गीको सङ्क्रमण नघटेको अधिकारीहरू बताउँछन्।

धरानमा मात्रै करिब चार सय जनामा डेङ्गीको सङ्क्रमण देखिएको अधिकारीहरूले बताएका छन।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीहरूको चाप थेगिनसक्नु भएको छ, अस्पतालका चिकित्सक एवम् डेङ्गी नियन्त्रण र्‍यापिड रेस्पोन्स टीमका संयोजक डा. विजय कुमार खनाल भन्छन्।

रगत जाँच गर्ने किट लगायत अन्य उपकरणको समेत अभाव भएपछि शङ्का लागेर जचाउन आउनेहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको चिकित्सकहरूको भनाइ छ।

डेङ्गीको सङ्क्रमण नियन्त्रण हुन नसक्दा धरानलाई डेङ्गी प्रकोप क्षेत्र घोषणा गरिएको बताइएको छ।

डेङ्गीकै कारण कतिपय शिक्षण संस्थामा पठनपाठन रोकिएको छ।

जमेको पानी मुख्य कारक

डेङ्गी एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

मुख्यगरी जमेको पानीमा त्यस्ता लामखुट्टेले फुल पार्ने र त्यसबाट जन्मिएका लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण हुने अधिकारीहरू बताउँछन।

जमेको तथा लामो समयसम्म भण्डारण गरेर राखिएको पानी फाल्न स्थानीयवासीलाई गरिएको आग्रह प्रभावकारी कार्यान्वयन नहुँदा डेङ्गी नियन्त्रणमा कठिनाइ भएको १ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक डा. भोगेन्द्र डोटेल बताउँछन्।

डेङ्गी
Image captionडेङ्गीको सङ्क्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले पनि धूँवा उठाएर लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न थालेको छ

डोटेलले भने, “लामो समयदेखि भण्डारण गरिएको पानी फाल्न गरिएका प्रयास प्रभावकारी नहुँदा डेङ्गीको सङ्क्रमण घट्नुको साटो दैनिक बढदो छ।”

तर नियन्त्रणको अरू विकल्प पनि छैन।

सरकारी अधिकारी, चिकित्सक, धरान उपमहानगरपालिका लगायतले समुदायका मानिसलाई डेङ्गीको सङ्क्रमण हुनसक्ने कारणबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि खासै उपलब्धिमूलक नभएको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी बताउँछिन्।

चिकित्सकहरूका अनुसार करिब दुई साता जमेको पानीमा डेङ्गी जातको लामखुट्टेको विकास भइसक्छ।

त्यसले कुनै बाटा वा भाँडामा राखिएको पानी कम्तीमा एकसाताभित्र दुई पटक फेर्नुपर्ने हुन्छ।

धरानका अधिकांश घरमा फूलबारी बनाउने प्रचलन रहेको र कतिपय फूलका लागि प्लाष्टिक वा सिसाका बाटामा लामो समयसम्म पानी जमेका कारण पनि डेङ्गीको सङ्क्रमण फैलिएको स्वास्थ्य अधिकारीहरूको अनुभव छ।

पानीको अभाव

खानेपानीको राम्रो प्रबन्ध नहुँदा धरानवासीले अधिकांश समय खानेपानीको समस्या झेल्नु परिरहेको स्थानीयवासीको भनाइ छ।

मुख्यगरी सुक्खा मौसममा पानीको आपूर्ति कम हुँदा स्थानीयवासी पानीको भण्डारण गरेर हप्तौँ दिनसम्म प्रयोग गर्ने गरेको बताइन्छ।

स्थानीय सर्दु खोला र जमिनमुनि बाट निकालिएको पानीले धरानको बढ्दो मागलाई धान्न नसकेको गुनासा बेला बेलामा आइरहन्छन्।

धरान उपमहानगरपालिकाले केही दिनयता केही वडाहरूमा ट्याङ्कीमार्फत्‌ पानी बाँड्न थाले पनि त्यो पर्याप्त हुन नसकेको स्थानीय उपभोक्ताहरूको भनाइ छ।

धरानमा फैलिएको डेङ्गीको सङ्क्रमण छिमेकी शहर इटहरी, विराटनगर, सुन्दरहरैचा लगायतका क्षेत्रमा पनि देखिन थालेको अधिकारीहरूले बताएका छन्।

डेङ्गी
Image captionजमेको पानीमा लामखुट्टेले फुल पार्ने र त्यसबाट विकसित लामखुट्टेले डेङ्गीको सङ्क्रमण फैलाउँछ

विराटनगरमा दुईजना डेङ्गी सङ्क्रमित बिरामी उपचाररत रहेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।

महानगरले बिहीवारदेखि धूँवा उडाएर लामखुट्टे मार्ने अभियन थालेको जनाएको छ।

धरान लगायत पूर्वी तराइका जिल्लामा डेङ्गीको प्रकोप बढेपछि १ नम्बर प्रदेश सरकारले पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

डेङ्गीको नियन्त्रण, सङ्क्रमितको उपचार लगायत जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

news copy from बिक्रम निरौला बीबीसी नेपाली सेवा

तपाईको प्रतिक्रिया