धरौटीमा रिहा भइपछि रवि लामिछानेको प्रतिक्रिया: “यो देशमा न्याय मरेको छैन”

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय प्रक्रियामा कुनै पनि अनियमितता नभएको बताएका छन्। सहकारी ठगीको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएका लामिछानेले न्याय प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेश अनुसार लामिछानेले बैंक ग्यारेन्टी बुझाएर धरौटीमा रिहा भएका थिए।

रिहा भइसकेपछि लामिछानेले प्रतिक्रिया दिँदै भने, “म न्याय प्रक्रिया सघाउनका लागि आएको थिए, अदालतप्रति गहिरो सम्मान व्यक्त गर्न चाहन्छु। न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद न्यायालयलाई। यो देशमा न्याय मरेको छैन।”

लामिछाने काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बचत अपचलनको आरोपमा मुद्दामा फसेका थिए। गत आइतबार अदालतमा लामिछानेको बयान र थुनछेक बहस भएको थियो।

तपाईको प्रतिक्रिया