धवल शमशेर र रविन्द्र मिश्रलाई थप १५ दिन हिरासतमा राखिने

काठमाडौं : राज्यविरुद्धको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणा थप १५ दिनको हिरासतमा रहने निर्णय गरिएको छ।

काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणालगायत अन्य २० जना पक्राउ परेकाहरूसँग सम्बन्धित थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्ने निर्णय गरेको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनाको म्याद थप गरिएको जानकारी दिएका छन्।

यसअघि दिइएको म्याद सकिएपछि मंगलबार प्रहरीले उनीहरूलाई अदालतमा पेश गरेको थियो। अपराधिक उपद्रव र संगठित अपराधको अनुसन्धानका लागि अन्य व्यक्तिहरूको म्याद भने २० दिनको थप गरिएको छ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले मिडियामाथि समेत आक्रमण गरेका थिए।

सोही दिन साँझ पक्राउ परेका राणा, मिश्रसहित अन्य २० जना प्रहरी हिरासतमा छन् र उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया