नरेन र मक्मलेनको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्‍यो। 

काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो।

सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौं कमजोर स्कोरमा अलआउट भयो।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे। उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंका ‌ओपनर चल्न सकेनन्। ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए। 

भीम सार्की र गेरार्ल्ड इरासमस १०-१० रन जोडेर आउट भए। सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए। 

प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भएपछि काठमाडौं हार नजिक पुगेको थियो। 

बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए। भरखरै यू-१९ टोलीबाट एसिया कप खेलेर आएका उनले ३.५ ओभरमा १९ रन खर्चिए। अभिनास बोहराले २ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए।

त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।

उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे। 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो। १९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके। उनी दोस्रो ओभरको अन्तिम बलमा काठमाडौंका रसिद खानबाट बोल्ड भएका थिए। 

अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए। शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। 

भण्डारी र ब्रान्डनबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी हुँदा सुदूरपश्चिमको रनले गति लियो। 

रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए। आरिफ शेख भने रनआउट भए। दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ रनमा आउट हुन पुगेका थिए।

स्कट कुगेलेइनले नटआउट ७ रन जोडे। ११ ओभरमा ९९ रन जोडेको सुदूरपश्चिमले बाँकी ९ ओभरमा ६८ रन मात्र जोड्न सक्यो।

बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिए। उनले चार ओभरमा २० रन दिए। करण केसी, शाहब आलम र गेरार्ल्ड इरासमसले १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया