नेपालको सान्त्वना जित: हङकङलाई ६ विकेटले हरायो

काठमाडौं : वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ। टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

१०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि सम्झना खड्काले ४७ रनको उत्कृष्ट पारी खेलिन्। कप्तान इन्दु बर्माले १८ रन बनाउँदै सम्झना खड्कासँग मिलेर पहिलो विकेटमा ५३ रनको साझेदारी गरे। पूजा महतोले २० रन बनाउँदै अविजित र अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्। हङकङका लागि माहिके दिप र लाईले समान १–१ विकेट लिएका थिए।

त्यसअघि हङकङले ब्याटिङ गर्दा ओपनर सान्जिन सहजादले ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६ रन र यास्मीन दास्वानीले १४ रनको योगदान दिए। नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन्, जबकि कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया