नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय दौड सम्मेलन आयोजना हुने, जेठको अन्तिम साता


आगामी जेठ महिनाको अन्तिम साता काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन आयोजना गर्न लागिएको छ।

जेठ २३ गते शुक्रवार, काठमाडौंमा ‘नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स’ आयोजना हुने भएको हो। यस कन्फ्रेन्सको आयोजनामा एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एएमएस)को सहकार्य रहने छ।

यस सम्मेलनको उद्देश्य एशियाली मुलुकका रनिङ समुदायलाई एकै स्थानमा एकत्रित गरेर अनुभव आदानप्रदान गर्ने, नयाँ ज्ञान सिक्ने र दिने मञ्चको निर्माण गर्नु हो। नेपालगन्ज म्याराथनका संस्थापक र एएमएसका प्रतिनिधि टीएस ठकुरीका अनुसार, यस सम्मेलनले नेपालमा परम्परागत रुपमा रहेको दौड विधिका साथै समग्र खेलकुदको विकासमा ठूलो योगदान पुर्याउने छ। यो कन्फ्रेन्स सम्भवत: दक्षिण एशियामा पहिलोपटक आयोजना हुने हो।

थाइल्याण्डमा हरेक वर्ष एशिया रोड रेस फोरम आयोजना हुँदै आएको छ, र अन्य एशियाली मुलुक जस्तै भियतनाम, सिंगापुर र इन्डोनेसियामा पनि यस्ता कार्यक्रम भइरहेका छन्। यद्यपि, दक्षिण एशियामा पहिलोपटक नेपालमा यस कन्फ्रेन्सको आयोजना गर्न लागिएको हो।

रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा यो कन्फ्रेन्सको आयोजना गर्दैछन्। एएमएसको बोर्ड बैठकको अवसरमा सम्मेलनको सुरुवात गर्न लागिएको जानकारी टीएस ठकुरीले दिएका छन्। कन्फ्रेन्सको आयोजनाका लागि नेपालका प्रमुख म्याराथन आयोजकहरू, खेलकुद र पर्यटनका क्षेत्रका अगुवाहरू, र समाजिक तथा आर्थिक क्षेत्रका व्यक्तित्वहरूको सहयोगमा आयोजक समिति गठन गरिने छ।

कन्फ्रेन्समा चार प्रमुख सेसन रहनेछन्। पहिलो सेसनमा एएमएसका अध्यक्ष पाको बोराओसँग विशेष साक्षात्कार हुनेछ। उनी विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्। अन्य सेसनहरूमा ‘सामाजिक आन्दोलन र म्याराथन’ र ‘खेलकुद र पर्यटनः आर्थिक र सांस्कृतिक सम्भावनाहरू’ जस्ता विषयहरूमा विद्वतापूर्ण विचार-विमर्श हुनेछ।

कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियत्नाम, इन्डोनेसिया, सिंगापुर लगायत २ दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया